नेपाली जनताको जीवन बचाउन दातृ निकायसँग पौडेलको अपील


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिड महामारीबाट नेपाली जनताको ज्यान बचाउन बाह्य मुलुकसँग अपील गरेका छन् ।

बिहीबार अपील जारी गरी वरिष्ठ नेता पौडेलले कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण नेपालको अवस्था अहिले विकराल बन्दै गएको र हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुगेको भन्दै सहयोगको आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण हाम्रो देश नेपालको अवस्था अहिले विकराल बन्दै गएको छ । हामी अहिले आफ्नो स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुगेका छौं । अक्सिजन र अस्पतालको अभावमा संक्रमितहरुले उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेको छ । यो विकराल अवस्थाबाट नेपाललाई जोगाउनका लागि म हाम्रा मित्र राष्ट्र, विदेशस्थित नेपाली नियोगहरु, नेपालमा रहेका विदेशी नियोगहरु, दातृ निकायहरु, गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समितिहरु, सहयोगी भावना भएका मित्रहरु तथा नागरिकहरुलाई हार्दिक अपील गर्दछु । नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बल बुताले पार पाउने अवस्था नदेखिएकाले नेपाली जनताको जीवन रक्षाका लागि मानवियताका आधारमा नेपालीलाई सहयोग गर्नका लागि म हार्दिक अपिल गर्दछु ।’