बहुमतको सरकार गठनका लागि माधव नेपाल र महन्थ ठाकुरको भर


काठमाडौं । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयसीमा आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आजसम्मको समय दिएकी थिइन् ।

विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्ने कसरतमा छन् ।

सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता माधव नेपाल लगायतसँग संवाद गरेका छन् ।

त्यस्तै दलहरुबीच आन्तरिक छलफल पनि जारी छ । देउवालाई सघाउन माओवादी सहमत भएपनि जनता समाजवादी पार्टीमा दुई धार देखिएको छ । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष वैकल्पिक सरकार गठनको पक्षमा छन् भने महन्थ ठाकुर पक्ष ओलीका पक्षमा देखिएका छन् । ठाकुरले बुधबार राष्ट्रपतिलाई भेटेर यादवले वैकल्पिक सरकार गठनका लागि पत्र पठाए त्यसलाई मान्यता नदिन आग्रह गरेका छन् ।

जसपाका शीर्ष नेताको बैठक बुधबार बसेको थियो । आज पनि बैठक बस्ने बताइएको छ । यता नेकपा एमालेको माधव नेपाल पक्ष पनि राजीनामा दिने तयारीमा देखिएको छ ।

नेपाल पक्षका नेताहरुले ओलीलाई रोक्न आफूहरुले राजीनामा दिनुको विकल्प नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । यदि जसपाको ठाकुर पक्षले नसघाएमा गठबन्धन सरकार बन्ने सम्भावना छैन ।

यदि माधव नेपाल पक्षीय सांसदले राजीनामा दिएमा ठाकुर पक्षले सहयोग नगरेपनि गठबन्धन सरकार बन्नेछ । तर आज राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।