काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको बताएका छन् ।
आइतबार पार्टीको बैठकपछि सामाजिक संजामार्फत भट्टराईले यस्तो कार्यनीति लिएको उल्लेख गरेका हुन् । भट्टराईले सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गर्ने नीति लिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!’

आइतबार बसेको जसपाको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने सन्दर्भमा ह्वीप जारी नगर्ने र त्यस विषयमा सांसदहरुलाई स्वतन्त्र छाड्ने निर्णय गरेको थियो । आजै बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने र आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया