प्रधानमन्त्रीलाई महन्थ ठाकुरले भने-तपाईंलाई विश्वासको मत दिन सक्दैनौं


काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आइतबार बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका हुन् । उनीहरुले आफूहरुले विश्वासको मत नदिने र तटस्थ बस्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

नेता महतोले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराएको बताए । भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन ठाकुरलाई आग्रह गरेका बताइएको छ ।

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेको छ । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । यसअघि बिहान पहिला ठाकुर र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानलिकण्ठ पुगेका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार संसदको विशेष अधिवेशन बोलाइएको छ ।