इटलीको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले पूरा तलब प्राप्त गर्ने गरी लगाइएको काम १५ वर्षदेखि नगरेको आरोप लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप लगाइएको छ ।
उनीमाथि ठगी, जबरजस्ती पैसा असुलेको अनि कार्यालयको दुरुपयोग गरेको विषयमा अनुसन्धान भइरहेको समाचार संस्था एन्साले उल्लेख गरेको छ । काम गरिरहेको ठानिएका उनलाई त्यस अवधिमा कुल ५३८,००० युरो तलब दिइएको बताइएको छ ।
अस्पतालमा छ जना प्रबन्धकहरूमाथि पनि सो मुद्दामा अनुसन्धान भइरहेको छ । इटलीका सार्वजनिक निकायहरूमा हुने ठगी र अनुपस्थितिको आशङ्कामा प्रहरीले गरेको लामो अनुसन्धानपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्ति सरकारी जागिरे हुन् र उनलाई सन् २००५ मा अस्पतालमा सरुवा गरिएको थियो । उनले त्यसपछि काम छल्न थालेको प्रहरीले जनाएको छ ।
उनले आफूविरुद्ध अनुशासनको कारबाही नगर्न तत्कालीन प्रबन्धकलाई धम्की दिएको समेत प्रहरीले आरोप लगाएको छ । ती प्रबन्धकले अवकाश लिएपछि उनको अनुपस्थिति त्यसपछिका प्रबन्धकहरू र मानव संसाधन निकायले थाहै नपाएको प्रहरी भनाइ छ।

प्रतिक्रिया