काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसको महाधिवेशनको कुरा उठ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत कोइरालाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशन सर्न सक्ने भन्ने कुरा राख्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । उनले महाधिवेशन कांग्रेस पार्टीले गर्ने र यसको कसैको अमूर्त स्वार्थ स्वीकार्य नहुने बताएका छन् ।
कोइरालाले लेखेका छन्, ‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो । महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो । यसमा कसैको अमूर्त स्वार्थ स्विकार्य हुँदैन।’

शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न सहयोगका लागि कांग्रेसलाई आग्रह गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलाई नयाँ निर्वाचनमा जान र महाधिवेशन पछि सार्ने आशयको अभिव्यक्ति दिएको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया