टंक आङ्बोहाङलाई प्रदेश सांसदबाट माओवादी केन्द्रले हटायो


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै माओवादीबाट निर्वाचित प्रदेश एकका प्रदेश सभा सदस्य टंक आङ्बुहाङलाई सांसद पदबाट मुक्त गर्ने निर्णय भएको छ ।

माओवादी केन्द्र प्रदेश नम्बर १ प्रदेश सभा संसदीय दलको सिफारिसमा आङ्वुहाङलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् आङ्वुहाङ माओवादी पार्टी छाडेर एमाले प्रवेश गर्दै प्रदेश मन्त्री समेत बनेका थिए । यसअघि माओवादी केन्द्रले पार्टी त्याग गरेको भन्ने विषयमा स्पष्टीकरण सोधेको थियो ।

उनले समयभित्र स्पष्टीकरण नदिएपछि पार्टीले कारबाही गरेको हो । पार्टी परित्याग गरी मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश एकका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।

उनले आङ्बुहाङलाई कारवाही गरेको पत्र प्रदेश संसद सचिवालयमा सोमबार दर्ता भएको जानकारी दिए । उनलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।