माधव नेपाल पक्षद्वारा नेताहरुमाथिको कारबाहीको निन्दा


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टीका नेताहरुमाथि पार्टी अध्यक्ष केपी ओलीबाट गरिएको कारबाही पार्टीको विधान विपरीत भएको भन्दै त्यसको निन्दा र भत्र्सना गरेको छ ।

शुक्रबार नेपाल पक्षको स्थायी कमिटी बैठकले स्थायी कमिटी सदस्यद्वय घनश्याम भूसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही ओलीको स्वेच्छाचारी कदम भएको निष्कर्ष निकालेको हो ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक परिस्थितिकाबारेमा छलफल भएको र पार्टी अध्यक्ष ओलीलाई फागुन २३ गतेको फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ ।

आजको बैठकमा राष्ट्रिय भेलाले तयार गरेको अवधारणा पत्रकाबारेमा छलफल भएको तथा देशव्यापी संगठन निर्माणका लागि तयार पारिएको ढाँचाकाबारेमा छलफल भएको र शनिबार बस्ने बैठकले त्यसलाई अन्तिमरुप दिने नेता योगेश भट्टराईले जानकारी दिए । नेपाल पक्षले संगठन सुदृढीकरणका लागि देशव्यापी अभियान संचालन गर्ने तयारी गरेको छ ।

राष्ट्रिय भेलाबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरी त्यसलाई तल्ला तहसम्म लैजाने नेपाल पक्षले योजना बनाएको छ । नेता भट्टराईले आफूहरुले समानान्तर कमिटी गठन नगरेको र बहुमत आफूहरुसँगै रहेको बताए । त्यस्तै उपाध्यक्ष डा. भीम रावलले महाधिवेशन आयोजक कमिटी बनाएर आफैँ अध्यक्ष बन्ने ओलीको निर्णय अवैधानिक भएको बताए । रावलले आफूहरूले गुटगत नभई एमालेको पूर्ववत् कमिटी चलाएको बताए ।