माओवादीलाई कानुन व्यवसायीको सुझावः सर्वोच्चको फैसला पुनरावलोकनमा जाँदा उपयुक्त


काठमाडौं । कानुन व्यवसायीले नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जान सुझाव दिएका छन् । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले कानुन व्यवसायीसँग परामर्श गरेको हो ।

परामर्शका क्रममा कानुन व्यवसायीले सर्वोच्चको फैसला पुनरावलोकनमा जाँदा उपयुक्त हुने सुझाव दिएका वरिष्ठ अधिवक्ता एवं राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले जानकारी दिए ।

अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ, समर्थन कसरी फिर्ता हुन्छ, सर्वोच्चको पार्टी फुटाउने फैसलालगायका विषयमा छलफल भएको उनले बताए । उनले सर्वोच्चको फैसला पुनरावलोकन नै उपयुक्त हुने आफूहरुले सुझाव दिएको बताए ।

उनले भने,‘लोकमानसिंह कार्कीको फैसला, प्रेरणा राज्यदेवी शाहको जग्गा मुद्दा पुनरावलोकन भयो । रञ्जन कोइरालको मुद्दा त पुनरावलोकनमा गएको छ । यो त कतैबाट निर्देशित भएको जस्तो देखिएको छ । माग दाबी भन्दा बढी बोलेकाले यो सच्चिन्छ । त्यसैले पुनरावलोकन नै उपयुक्त हो । यसमा हामी कानुन व्यवसायी एकमत छौं ।’ बैठकमा कानुनव्यवसायी रामनारायण बिडारी, शम्भु थापा, मुक्ति प्रधानलगायत थिए ।