नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले ओलीलाई प्रयोग गरेः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजेको आरोप लगाएका छन् ।

५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान सिध्याउने एकमात्र ओलीलाई भेटेर यस्तो कदम चालिएको बताएका हुन् ।

उनले भने, ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरु देश भित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । बिचार गर्नुहोला, ति सबै मिलेर एउटा धार बनेको छ । र ति सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्रपनि सिध्याउन सक्ने भएकाले उनीहरुले ओलीलाई नै छानेका हुन् ।’

दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसको विरुद्ध आफू बाँचुञ्जेल लड्ने पनि बताए । उनले धूलोमैलो टक्टक्याएर आन्दोलनका लागि आफू झनै बलियो बनेको दाबी गरे । उनले भने, ‘३६ वर्षको उमेरमा महासचिव बनेको थिएँ, जनयुद्ध गर्दा ४२ वर्षको थिएँ, ५२ वर्षमा शान्ति सम्झौता गरें । अहिले अर्को लडाईं लड्नुपर्ने भएको छ, म बाँचुञ्जेल लड्छु।’