काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच सत्ता साझेदारीका विषयमा छलफल भएको छ । बिहीबार साँझ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेट सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
शुक्रबार पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने उनले बताए । जसपाका नेता लक्ष्मणलाल कर्णले आफूहरुले मधेस थरुहट आन्दोलनमा जेलमा रहेका कैदीबन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग अघि सारेको जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक छु भन्नुभएको छ ।’ बिहीबार दिउँसो बसेको जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णय अनुसार जसपाका नेताहरु एमाले नेताहरुलाई भेट्न गएका हुन् । भेटमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई सहभागी थिए । त्यसैगरी जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोककुमार राई, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

प्रतिक्रिया