ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड, एभर्टनसंग ३–३ गोलको बराबरीमा रोकिएको छ । ओल्ड ट्राफोर्डमा खेलको पहिलो हाफमै बनाएको २–० को अग्रता जोगाउन नसक्दा म्यान युनाईटेड अंक बाँड्न बाध्य भयो । यो बराबरीसंगै युनाईटेडले शीर्ष टोली म्यानचेष्टर सिटीसंग अंक बराबरी गर्ने अवसर समेत गुमाएको छ ।
२४ औ मिनेटमा ईडिसन काभानीको गोलमा अग्रता बनाएको युनाईटेडले ४५ औ मिनेटमा अग्रता दोब्बर पारेको थियो । बुर्नो फर्नाण्डेजले गोल गर्दै युनाईटेडलाई पहिलो हाफमै २–० को अवस्थामा पुर्याए । दोस्रो हाफको चौथो मिनेटमा अब्दुलाए डुकोरोले गोल गर्दै एभर्टनको अन्तर घटाएका थिए । ५२ औ मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै एभर्टनलाई बराबरीमा पुर्याए ।
७० औ मिनेटमा स्कट म्याक टोमिनेले गोल गर्दै युनाईटेडलाई पुन अग्रता दिलाएका थिए । तर ईन्ज्युरी समयमा उसले लय गुमाउदा एभर्टन खेलमा फर्कियो । डोमिनिक लेविनले गोल एभर्टनलाई बराबरीमा पुर्याएका थिए ।
बराबरीसंगै युनाईटेड ४५ अंकमा तालिकाको दोस्रो स्थानमा कायम छ । एभर्टन भने ३७ अंकमा तालिकाको छैटौ स्थानमा उक्लिएको छ । गएराती नै न्यु क्यासल युनाईटेडले साउथ हेम्प्टनलाई ३–२ गोल अन्तरले हराउदा आर्सनल एष्टन भिल्लासंग १–० ले स्तब्ध भयो । अन्य २ खेल भने बराबरीमा सकिएका छन् । बर्नली र ब्राईटन एण्ड होभ एल्बियनले एक एक गोलको बरारबी खेल्दा फुल्ह्याम र वेष्टह्याम युनाईटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया