मोटरसाइकल दुर्घटनामा धनगढीमा दुई जनाको मृत्यु


धनगढी । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिबार राति   ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिबार राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको  ट्याक्टर र सोही दिशातर्फ गइरहेको ब ९१ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १० का २३ वर्षीय  गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।   ट्याक्टर  चालक घोडाघोडी नगरपालिका ५ का २१ रामसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।