दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द


कञ्चनपुर । कोरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ । दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन् । अति आवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरोना सङ्क्रमण बढेपछि एक साताका लागि नगरपालिका क्षेत्र लकडाउन गर्नुपरेको बताए । कोरोनाको सङ्क्रमण ज्यादै बढ्न थालेसँगै भिडभाड नियन्त्रण नगरी नहुने अवस्था आएपछि यस्तो निर्णय लिनु परेको उनले बताए ।

नगरपालिकाका वडा नं १ र ३ का वडाध्यक्षमा कोरोनाको सङ्क्रमण देखिएको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन । नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।