काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले भौगोलिक दृष्टिकोणले जोखिममा रहेका घर तथा वस्तीहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले भौगोलिक दृष्टिकोणले अत्यन्त जोखिममा रहेका घर तथा वस्तीहरु तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्थानीय ठाउँमा उपलब्ध स्रोत साधनलाई प्राथमिकतामा राखी उपभोग गर्दै सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
त्यस्तै बैठकले नयाँ संसद भवनको निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्न कार्ययोजना बनाई कार्यान्वयन गर्न पनि शहरी बिकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
सम्झौता अनुसार तीन वर्षभित्रै निर्माणसम्पन्न गर्न कार्ययोजना बनाई काम गर्न र सो कार्ययोजना समितिमा समेत पेश गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको समिति सदस्य गणेशकुमार पहाडीले जानकारी दिए ।
बैठकले पुरानो प्रतिनिधिसभाको ग्यालरी बैठकको ऐतिहासिक, मौलिकता र पहिचान कायम हुनेगरी अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखी तत्काल पुननिर्माणको कार्य अगाडि बढाउन पनि निर्देशन दिइएको सांसद पहाडीले बताए ।
बैठकमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसदको नयाँ भवनलाई तोकिएको समयमा सम्पन्न गर्न प्रतिवद्ध रहेको बताए । संसदको नयाँ भवनको निर्माण सुस्त भएको स्वीकार गर्दै उनले जनशक्ति थप गरेर भएपनि तिव्र रुपमा निर्माणका निर्माण कम्पनीलाई निर्देशन दिएको बताए । बैठकमा सांसदहरुले एकीकृत शहरी विकासको काम सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया