काबुलमा सांसदको सवारी साधनलक्षित गरी गराइएको बम विस्फोटमा दुई जनाको मृत्यु


अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो । विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन् । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो ।

आक्रमणको समयमा सांसदका भाइ सवारी साधनमा सवार रहेका र उनी घाइते भएका जनाइएको छ । आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका छन् ।