अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाइरस विरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ ।
एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो । हानले यसलाई असत्य भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन् ।
स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन् । फाइजरको खोपलाई वेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ । गत बुधवार अमेरिकामा तीन हजार जनाभन्दा बढीको कोभिड १९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो ।
बिहीवार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए । २३ सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए । राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताएका छन् । फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताइएको छ।

प्रतिक्रिया