अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक जो बाइडनले जितेको स्वीकार गरेको देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन् । ‘निर्वाचनमा धाँधली भएकोले उनले जिते,’ रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्विटरमा लेखेका छन् । त्यसको एक घण्टापछि उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरे ।
उनले महत्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भएपनि त्यससम्बन्धी प्रमाण दिएका छैनन् । उनका सबै कानुनी चुनौतीहरू अहिलेसम्म असफल भएका छन् । शुक्रवार निर्वाचन अधिकारीहरूले चुनाव ’अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित’ रहेको र ’कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको’ बताएका थिए ।
अहिलेको अवस्थामा बाइडन आगामी राष्ट्रपति निर्वाचितको रूपमा छन् । उनले ३०६ इलेक्टलर कलेज मत जितेका छन् जुन राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी हो । पुनः मतगणना वा कानुनी चुनौतीले यो नतिजालाई असर पार्ने आँकलन गरिएको छैन । कुल मतसङ्ख्यामा पनि बाइडनले ट्रम्पलाई ५० लाखभन्दा बढी मतले पछाडि पारेका छन् ।
तर ट्रम्पले त्यो ट्वीट गर्नुअघिसम्म बाइडनको जितका बारे कतै उल्लेख गरेका थिएनन् । शुक्रवारको एक पत्रकार सम्मेलनमा पनि ट्रम्पले ’भविष्यमा कुन प्रशासन आउँछ भन्ने कुरा कसलाई के थाहा’ भनेका थिए ।
\ट्वीटको पहिलो दुई शब्द अंग्रेजीमा ’उनले जिते’ भन्ने छ र त्यसपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप दोहोर्याएका छन् । त्यसपछि फेरि पर्यवेक्षकहरूले प्रवेश नपाएको कारण बाइडनले जितेको लेख्दै सञ्चारमाध्यमलाई आरोप लगाएका छन् । ट्रम्पले हार स्वीकार नगर्दा जनवरी २० मा हुनुपर्ने प्रशासन हस्तान्तरण प्रक्रिया अलमलमा परेको छ ।

प्रतिक्रिया