भारतीय पत्रकार गोस्वामीलाई जमानतमा रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार


भारतको मुम्बई उच्च अदालतले भारतीय पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्दामा प्रहरी हिरासतमा रहेका गोस्वामीलाई उच्च अदालतले रिहा गर्न अस्वीकार गरेको हो । उनलाई गतसाता हिरासतमा लिइएको थियो र १४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको थियो ।

उनीमाथि उनको स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनलाई आत्महत्याका लागि बाध्य पारेको आरोप छ । अर्नबले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् । उच्च अदालतले सोमबार आफ्नो फैसला सुनाउँदै यो निर्णयविरुद्ध उनले चाहेको खण्डमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ ।

उनलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नतिजा नेगेटिभ आएपछि क्वारेन्टिन केन्द्रबाट जेल लगिएको थियो । गोस्वामीको यो मुद्दा यसअघि बन्द भइसकेको भए पनि महाराष्ट्र सरकारले हालै मात्र यो घटनामा थप अनुसन्धानको लागि निर्देशन दिएको थियो ।