‘वैध मत मात्र गणना गरिए आफूले सजिलैसँग जित्ने’ ट्रम्पको दाबी, ‘संयमित’ हुन बाइडनको आग्रह


अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् । ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ’संयमित’ हुन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ तर प्रक्रियाले काम गरिरहेको छ।’

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले अमेरिकामा मतदान गर्ने काम पवित्र हुने बताएका छन् । मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई कुनै शङ्का नरहेको पनि बाइडनले बताए । त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा ’धाँधली’ गरिएको आरोप फेरि लगाए । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन् ।

ट्रम्पले भने, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।’ हुलाकमार्फत् गरिएको मतदान ’एकतर्फी’ भएको दाबी पनि उनले गरेका छन् । मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको सङ्ज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए । राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर पूर्ण युद्धमा जान आफ्ना बुवालाई आग्रह गरेका छन् । उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ ।

जितका लागि महत्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन् । निकै महत्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ । पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन् ।