जीवनको समग्रताका लागि ईश्वरको भन्दा पनि असल कर्मको भूमिका महत्वपूर्ण


काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसको दर्शनशास्त्र विभागले सोमबार आध्यात्मिक विज्ञानको साथ एकीकृत जीवन विषयमा प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

उक्त भर्चुअल प्रवचनको प्रमुख वक्तामा होलिस्टिक साइन्स रिसर्च सेन्टरका उपाध्यक्ष तथा प्राध्यापक एलडी पटेल रहेका थिए । उनले होलिस्टिक साइन्स एक अनुसन्धान र शिक्षा उन्मुख संस्था भएको र यसले विश्वका मानव जातिका लागि आन्तरिक शान्ति र खुसी प्रवद्र्धन गर्ने बताए । उनका अनुसार जीवनको समग्रताका लागि ईश्वरको भन्दा पनि असल कर्मको भूमिका महत्वपूर्ण हो ।

उनले भने, ‘ जीवनको उच्चतम लक्ष्य तब मात्र प्राप्त हुन्छ जब यो विस्तृत रुपमा बुझिन्छ । सांसारिक जीवनलाई यसको बाहिरी पक्षहरूमा मात्र होइन, आन्तरिक पक्षहरूमा पनि स्वीकार्नु पर्दछ । वैज्ञानिक र प्राविधिक विकासलाई नैतिक मूल्य र आध्यात्मिक पक्षहरूसँग समिश्रण गर्न आवश्यक छ ।’

कार्यक्रममा देश विदेशका गरी ९० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन त्रिचन्द्र क्याम्पसको दर्शनशास्त्र विभागका प्रा. डा. गोविन्दशरण उपाध्यायले संचालन गरेका थिए । कार्यक्रममा लोकराज पाठकले धन्यवाद ज्ञापन गरेका थिए । विभागले केही समयदेखि हरेक हप्ता फरक फरक विषयमा प्रवचन कार्यक्रम गर्दै आएको छ ।