अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ । उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओराल्ने योजना समावेश गरिँदैछ । आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा पठाउन एक पुरुष र एक महिलालाई पठाउँदैछ ।
चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो । नासाको समयरेखा उक्त कार्यक्रमको एउटा अवतरण प्रणाली बनाउन अमेरिकी संसद्ले ३.२ अर्ब कसरी निकास दिन्छ भन्ने कुरामा निर्भर हुन्छ । अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन् । त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ ।
अन्तरिक्षयात्रीहरू अरिअन नाम दिइएको अपोलोजस्तै यात्रुहरू बस्ने भाग (क्याप्सुल) मा चन्द्रतर्फ पुग्नेछन् । नासाका प्रशासक जिम ब्रिडेन्सटिनले २८ अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्ने बताए । त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिन्छ ।
उनका अनुसार ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र त्यसैले त्यो रकमको ठूलो रणनीतिक महत्व छ । अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ । तैपनि त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिनेछ ।
सन् २०१९ को जुलाई महिनामा नासाका प्रशासक ब्रिडेन्सटिनले सीएनएनसँग कुरा गर्दै चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री कस्तो हुने भनेर खुलाएका थिए । उनको भनाइमा ती महिला ‘राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी’ व्यक्ति हुनेछिन् । उनले ती महिना अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाएका थिए ।
यस अन्तर्वार्ताको समयमा त्यस्ता १२ सक्रिय महिला अन्तरिक्षयात्री छन् । उनीहरूसँग गत वर्ष मात्र नासाबाट तालिम पूरा गरेका पाँच महिला पनि थपिएका छन् । उनीहरू सन् २०२४ सम्म चन्द्रमामा जान आवश्यक मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन । चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ ।
चन्द्रमामा पुनः मानिसलाई पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ । अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ । त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धन बनाउन प्रयोग गर्न सकिनेछ । पृथ्वीबाटै इन्धन बोकेर लैजानुभन्दा सस्तो समेत हुने त्यस्तो कामले चन्द्रमामा आधारित हुने अर्थतन्त्रको आधार तयार पार्नेछ ।
तर उपराष्ट्रपति माईक पेन्सले चीनको अन्तरिक्ष महत्वाकांक्षा जोडेर चासो व्यक्त गरिरहेका छन् । सन् २०१९ को जनवरीमा चीन चन्द्रमाको त्यस्तो कुनामा रोबटसहितको यान नियन्त्रित रूपले उतार्न सफल भएको थियो । उक्त मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ ।
चीनले अहिले त्यस्तो अन्तरिक्षयान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्षयात्रीहरू चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्नेछन् । चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर यो दशकको अन्त्यसम्ममा उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ । नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ ।
आर्टिमस १ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्कनेछ । नासाकी ह्यूमन स्पेसफ्लाईट प्रमुख क्याथी ल्विडर्सका अनुसार एक महिना त्यसरी बिताउँदा उक्त यानले सबै महत्वपूर्ण प्रणालीहरूको परीक्षण गर्नेछ । आर्टिमस २ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ ।
यस मिशनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरीअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्षयानलाई आफैँ नियन्त्रणमा लिन सक्नेछन् । उक्त सुविधाले ओरीअनको काम गर्ने क्षमतालाई बलियो बनाउनेछ । आर्टिमस ३ भने झन्डै ४८ वर्षअघि अपोलो १७ पुगेपछि चन्द्रमामा मानिस अवतरण गराउने पहिलो मिशन हुनेछ ।
नासाले विभिन्न कम्पनीलाई ९०.७ करोड डलर दिएर चन्द्रमामा अवतरण गर्ने यानको डिजाइन र निर्माणको जिम्मा दिएको छ । यो दशकको अन्त्यतिर नासाले चन्द्रमामा मानव आधार केन्द्र बनाउने योजना बनाएको छ । आर्टिमस आधार शिविर नाम दिइने त्यस्तो कार्यक्रममा चन्द्रमामा लामो समय बिताएर खोज(अध्ययन गर्ने पूर्वाधार बनाइनेछ ।
सन् १९६० र ७० को दशकमा अपोलो कार्यक्रमका लागि अहिलोको मुद्रास्फीतिसँग समायोजन गर्दा २५० अर्ब डलरभन्दा बढी रकम खर्चिएको थियो । तर नयाँ योजनाको लागि छुट्याइएको बजेटमा ओरीअन यान र अन्तरिक्ष प्रक्षेपण प्रणाली अर्थात् एसएलएस रकेटमा पहिल्यै खर्चिएको रकम समाविष्ट छैन ।

प्रतिक्रिया