काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन साहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले आइतबार शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री साह आज दुईदिने औपचारिक राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका शाहको भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
शुभकामना सन्देशमा भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुने उल्लेख छ ।
आचार्यले नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहेको उल्लेख गर्दै भ्रमणले आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेका छन् ।
उनका अनुसार प्रधानमन्त्रीले भ्रमणका सन्दर्भमा पार्टी सभापतिसँग विस्तृत छलफल तथा जानकारी गराएका थिए । उक्त अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया