भारतीय नागरिक उड्डयनमन्त्रीसँग पर्यटनमन्त्री पौडेलको भेट, हवाई सहकार्यबारे छलफल


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडू किन्जारापुसँग भेटवार्ता गरेका छन्।

भारतमा बुधबार भएको भेटमा नेपाल–भारतबीच हवाई उड्डयन तथा नागरिक उड्डयन क्षेत्रको सहकार्य थप विस्तार गर्ने सम्भावनाबारे छलफल भएको मन्त्री पौडेलले बताएका छन् ।

भेटपछि सामाजिक सञ्जालमार्फत मन्त्री पौडेलले मन्त्री नायडूलाई युवा, ऊर्जाशील र आत्मीय नेताका रूपमा चित्रण गरेका छन्। उनले नायडूको खुलापन, स्पष्ट अभिव्यक्ति र हास्यबोधको प्रशंसासमेत गरेका छन्।

भेटका क्रममा हवाई क्षेत्र र नेपाल–भारतबीच थप सहकार्यका अवसरबारे राम्रो छलफल भएको उल्लेख गर्दै मन्त्री पौडेलले आतिथ्यका लागि भारतीय मन्त्री नायडूप्रति आभार व्यक्त गरेका छन्।