कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्सम्बन्धी मुद्दामा अदालतले आफूखुसी फैसला गर्दै आएको टिप्पणी गरेका हुन् । उनले विगतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतबाट आफूअनुकूल फैसला भएको देखेको उल्लेख गर्दै ती फैसलालाई आफूहरूले स्वीकार्दै आएको बताए।

अहिले प्रतिनिधि सभासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि फैसला हुन नसकेको भन्दै ओलीले अदालतको भूमिकामाथि प्रश्न उठाए ।
अध्यक्ष ओली भने, ‘प्रतिनिधि सभाको विघटनसम्बन्धी सम्मानित अदालतबाट आफूअनुकूल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौँ। अहिले सम्मानित प्रतिनिधिसभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधिसभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन।’

अध्यक्ष ओलीले पार्टी फेरि सरकारमा जाने दाबी गरे । उनले भने, ‘एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अघि सारेको छ फेरि अघि बढाउँछ ।’

उनले समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न नछोड्ने बताए । ओलीले एमाले देशका भविष्य भएको दाबी गरे । ओलीले एमाले हुतिहाराको पार्टी नभएको दाबी गरे ।