दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि कार्कीले कात्तिक २० गते त्यसविरुद्ध रिट दायर गरेका थिए ।

 कार्की आफूलाई कुनै सूचना र सुनुवाइको मौका नदिई हटाइएको जिकिरसहित सर्वोच्च पुगेका हुन् । केसीलाई प्रहरी प्रमुखमा नियुक्त, दज्र्यानी चिह्न प्रदान गर्नेलगायत निर्णय रिटमा रोक्न माग गरिएको छ ।

आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यताबारे आरोप समेत उल्लेख नगरिएको कार्कीले रिटमा उल्लेख गरेका छन् । कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई उक्त जिम्मेवारीमुक्त गरी एआईजी मनोज केसीलाई प्रहरी प्रमुख बनाइएको छ ।