जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद नरहेको बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताएका हुन् ।
उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागिपरेको उल्लेख दाबी गरे । सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रुपमा बुझ्न आग्रह गरे ।
उनले रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरुलाई सकारात्मक रुपमा लिने गरेको बताए ।
सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफू अर्को पटक भोट माग्न नआउने बताए ।
उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफूलाई आवश्यक नरहेको उल्लेख गरे । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उनले नेता तथा कार्यकतालाई आग्रह गरे ।

प्रतिक्रिया