ममताको न्याय, लुगोको नेतृत्व र नेपाली समुदायको कृतज्ञता


-प्रसन्न संग्रौला ।

कसैले इतिहास भाषण गरेर रच्छन्, कसैले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरेर। मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगो (Chief Mario Lugo) ती व्यक्तित्वमध्ये एक हुन्, जसको नेतृत्व र दृढ सङ्कल्पलाई नेपाली समुदायले सधैँ सम्मानका साथ सम्झिरहनेछ। ममता बेपत्ता भएको खबर सार्वजनिक हुँदा चारैतिर अन्योल थियो। एउटा परिवार पीडामा थियो, एउटी सानी छोरी आमाको मायाबाट वञ्चित थिइन् र सिङ्गो नेपाली समुदाय उत्तरको खोजीमा थियो।

त्यही कठिन परिस्थितिमा मनासस पार्क प्रहरी विभागले अनुसन्धानको जिम्मेवारी सम्हाल्यो। प्रहरी प्रमुख मारियो लुगोको नेतृत्वमा सुरु भएको अनुसन्धान एउटा सामान्य बेपत्ता व्यक्तिको खोजीमा मात्र सीमित रहेन। यसले हत्या अभियोगको अनुसन्धान हुँदै अदालतबाट दोषी ठहर हुने अवस्थासम्म पुग्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो। ममताको शव फेला नपरेको जटिल परिस्थितिमा समेत अनुसन्धानलाई निरन्तरता दिनु सामान्य चुनौती थिएन। तर उनको नेतृत्वमा प्रहरी टोलीले प्रमाण, तथ्य र सत्यको खोजी छाडेन। यो मुद्दाले स्थानीय समुदाय मात्र होइन, अमेरिकाभरिका नेपालीहरूको ध्यान खिचेको थियो। यस्तो संवेदनशील परिस्थितिमा अनुसन्धानलाई अघि बढाउन धैर्य, साहस र व्यावसायिक प्रतिबद्धता आवश्यक थियो। भावना र अनुमानभन्दा माथि उठेर प्रमाण सङ्कलन गर्नु, अनुसन्धानका विभिन्न पक्ष जोड्नु र अभियोजन पक्षलाई आवश्यक तथ्य उपलब्ध गराउनु प्रहरी अनुसन्धानको महत्त्वपूर्ण जिम्मेवारी हो। यस प्रक्रियामा उनको विभागले निर्वाह गरेको भूमिका प्रशंसनीय छ! ममताको न्यायका लागि आवाज उठाउने हजारौँ नेपाली र अमेरिकी नागरिकका लागि यो अनुसन्धान केवल एउटा आपराधिक मुद्दा थिएन। यो मानवता, न्याय र कानुनी शासनप्रतिको विश्वासको परीक्षा पनि थियो।

यो सफलता कुनै एक व्यक्तिको मात्र होइन। प्रहरी प्रमुख लुगोसँगै दिनरात खटिएका अनुसन्धानकर्ता, प्रहरी अधिकारी, प्राविधिक विशेषज्ञ र अभियोजन पक्षका सम्पूर्ण सदस्यहरू सम्मानका उत्तिकै हकदार छन्। प्रमुख लुगो, तपाईंले नेपाली समुदायको मन जित्नुभएको छ! तपाईंले आफ्नो कर्तव्य निर्वाह गर्नुभयो, तर त्यसको प्रभाव एउटा प्रहरी विभागको सीमाभन्दा धेरै टाढासम्म पुगेको छ। प्रमुख मारियो लुगो, तपाईंको सेवा, साहस, धैर्य र नेतृत्वप्रति नेपाली समुदायको तर्फबाट हृदयदेखि धन्यवाद ! ममताको सम्झना र न्यायको यो ऐतिहासिक यात्रामा तपाईंको योगदान सधैँ सम्मानका साथ स्मरण गरिनेछ।