सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले देशको पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गर्दै निर्माण कार्य तीव्र पार्न निर्देशन दिएका छन् ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले उक्त नौसैनिक अड्डालाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्वपूर्ण परियोजना बताए । उनले निर्माण कार्यलाई गति दिन तथा गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित मापदण्डअनुसार सम्पन्न गर्न निर्देशन दिएका हुन्।
तर, निर्माणाधीन नौसैनिक अड्डाको वास्तविक स्थान र आकारबारे उत्तर कोरियाले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
उत्तर कोरियाले पछिल्लो समय आफ्नो नौसैनिक क्षमता विस्तारलाई प्राथमिकता दिँदै आएको छ । नेता किमले नौसैनिक बेडालाई आणविक हतियारले सुसज्जित गर्ने र १० हजार टन क्षमताको युद्धपोत निर्माण गर्ने योजना अघि सारेका छन् ।
उत्तर कोरियाले पाँच हजार टन क्षमताका विध्वंसक युद्धपोत निर्माण गर्नुका साथै जहाजबाट प्रहार गर्न सकिने क्षेप्यास्त्रको परीक्षणसमेत गर्दै आएको छ ।
गत सोमबार मात्रै उत्तर कोरियाले नयाँ उच्च गतिको टारपेडो प्रणाली परीक्षण गरेको थियो । उक्त प्रणाली सन् २०२७ को सुरुतिर नौसेनामा समावेश गर्ने अपेक्षा गरिएको छ ।
यसअघि गत वर्ष सार्वजनिक गरिएको पाँच हजार टन क्षमताको विध्वंसक युद्धपोतमा सतह र हवाई लक्ष्यमा प्रहार गर्न सकिने क्षेप्यास्त्र जडान गर्न सकिने विशेषज्ञहरूले आकलन गरेका छन् । उत्तर कोरियाको पछिल्लो गतिविधिले आफ्नो नौसैनिक शक्ति र समुद्री प्रतिरक्षा क्षमता विस्तार गर्ने प्रयासलाई तीव्रता दिएको देखिएको छ ।

प्रतिक्रिया