काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिन्दुकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका साझा चुनौतीको प्रभावकारी सम्बोधन तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि क्षेत्रीय सहकार्यका संयन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।
’रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्सझ विषयक कार्यक्रममा परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राखे ।
उनले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन, प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदान र सफल अभ्यासहरूको विस्तारका लागि नीतिगत समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रमा साझा प्रयासलाई प्राथमिकता दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया