भीमफेदीमा ईभी दुर्घटनामा मृत्यु भएका १० मध्ये दुई जनाको मात्र सनाखत


हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट भीमफेदीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ६०० देखि ७०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरअन्तर्गत भीमफेदीस्थित कारागार सुरक्षा बेस र कुलेखानीस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी सहायक निरीक्षक मनिष जैसवालको कमाण्डमा १९ जना सुरक्षाकर्मी उद्धारका लागि परिचालन भएका थिए।

त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा नेपाली सेनासमेतको संयुक्त टोली घटनास्थलमा खटिएर उद्धार कार्य गरेको थियो।दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी रहेको छ।

मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन्। 

दुर्घटनामा घाइते भएका पाँच जनालाई हेटौंडा अस्पताल ल्याई उपचार भइरहेको छ। घाइतेमध्ये सर्लाही चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुजन यादवको अवस्था सामान्य रहेको छ।

सोही स्थानका करिब २६ वर्षीय देवेन्द्र यादव गम्भीर घाइते भएका छन् भने देवेन्द्र राय मध्यम घाइते भएका छन्। एक जना बालकलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइँदै गरिएको छ।

उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमाण्डमा थप ११ जनाको टोलीसमेत बिहान १०ः४५ बजे घटनास्थलतर्फ परिचालन गरिएको थियो।दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा उद्धार तथा आवश्यक व्यवस्थापनको कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।