काठमाडौं । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ।
सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा यात्रुलाई सेवा दिनेछ।
त्यस्तै, अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ। यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ।
भाइटिकाका दिन सार्वजनिक यातायातको अभावमा नागरिकले आवतजावतमा समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै निःशुल्क बस सेवा सञ्चालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिएका छन्।सशस्त्र प्रहरीले यसअघि पनि चाडपर्वका समयमा सर्वसाधारणलाई सहज यात्रा सुविधा उपलब्ध गराउन निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको थियो।

प्रतिक्रिया