‘तिहारले अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना जागृत गराओस्’


काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा दीपावलीको अवसरमा सम्पूर्ण नेपाली नागरिक, नेपाल प्रहरीका कर्मचारी र उनीहरूका परिवारजनमा शुभकामना व्यक्त गरेका छन्।

तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्कीले सप्तरङ्गी दीपको प्रकाशले सबैको जीवनमा प्रेम, शान्ति, समृद्धि, सकारात्मक ऊर्जा र सिर्जनशीलताको उज्यालो फैलाउने विश्वास व्यक्त गरेका छन्।

उनले अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना सबैमा जागृत हुनुपर्ने बताएका छन्।सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाट साझा विजय सम्भव हुने उल्लेख गर्दै उनले भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम हुने बताएका छन्।

उनले भनेका छन्, ‘मनका सङ्कीर्णता, द्वेष, अहंकार तथा विकारहरू हटाई अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना जागृत गराओस। सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाटै साझा विजय सम्भव हुन्छ तथा भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहन्छ भन्ने सत्यबोध सबैमा जागृत हुन सकोस्।’

उनले तिहारले व्यक्तिगत तथा पारिवारिक जीवनमा सुख, आत्मीयता र सद्भाव बढाउनुका साथै राष्ट्रसेवाप्रतिको समर्पण अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।