काठमाडौँ । तिहारको तेस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । घरको सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर आज सम्मान गरिन्छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ।
त्यसैगरी नरक चतुर्दशी पनि आज मनाइँदैछ । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।
यसैगरी आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । कात्तिक कृष्ण औँसीको यस रातलाई ’सुखरात्रि’ पनि भनिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । साँझपख आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ ।

प्रतिक्रिया