-डा. युवराज संग्रौला ।
शान्त आकाशको तल ठिंङ्ग उभिएको एउटा सिमलको सुन्दर रुख—जसका हाँगामा बकुल्लाहरूको बाक्लो बसाइ छ । यो रुखको सौन्दर्यभन्दा बढी दोग्ला र मुर्ख बकुल्लाहरुको भिडले अर्थ राख्छ । यि सबैको तृष्णा माथिल्ला हाँगाहरूमा सरेर तलका बकुल्लाका शरीरमा दिसा गर्नेनै हो; जसरी पनि शिरमा बस्ने लालसा पुरा गर्नेनै हो । जो निर्दोष छ, इमानदार छ र समयमै आएर पनि चुपचाप बस्छ, उसका लागि त्यो बास असुरक्षित छ । पछिबाट पखेटा फट्फटाउँदै आएकाहरूको बलमिचाइँले उनीहरुको स्थान खोस्छ्न। बर्षौँदेखि यही भएको छ।
तर, यी बकुल्लाहरूको वास्तविकता अर्कै छ । यिनका अम्लीय दिसाको भारले त्यो हरियो सिमलको रुख भित्रभित्रै कुहिन र मर्न थालेको छ । सबै हांगा दिसाले पुरिएका छन् ।
१. के यो सिमलको रुख नेपाल हो ? यसको अस्तित्व र संरक्षणका लागि सोच्ने कोही छ ? कि साझा चौतारीलाई फोहोर गर्नेहरूको मात्र ताँती छ ।
२. जो न्याय, समानता र सत्यका ठूला पाठहरू पढाइरहेका छन्, भित्री मनमा उनीहरू नै पद, प्रतिष्ठा र नियुक्तिको स्वार्थी पूजामा लिप्त छन त छैनन ?
३. जब मानिसभित्रको चेतना र आत्मसम्मान मर्छ, तब ऊ केवल एउटा बकुल्लो बन्छ ? के उसलाई तल बस्ने सहयात्रीको शिरमाथि फोहर फ्याँक्दा दुष्ट्याइँ हुन्छ भन्ने हेक्का हुंदैन ? के उसलाई आफ्नै कर्मको अम्लीय विषले आफू बस्ने आश्रय नै नष्ट हुँदैछ भन्ने चेत हुंदैन ?
यो विद्रूप वातावरण कुनै सोझा बकुल्लाले बनाएका होइनन, यो त भित्र एकथोक र बाहिर अर्कै देखिने धुर्त, कपटी र चतुर बकुल्लाहरूको कुटिल चाल हो । तर याद राखौँ, यो बर्बादी ती बकुल्लाहरूको देन होइन, यो त ‘सबै जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि चुपचाप बसेका ‘बुद्धिमानी’ तर अल्छी बकुल्लाहरू’ को मौनताको परिणाम हो । यो रुख रहेन भने कहाँ बस्छन् बकुल्ला ? यी बकुल्लाले ‘म भन्न’ छोडेर ‘हामी’ भन्न थाले त रुख मर्ने थिएन कि ?

प्रतिक्रिया