मलाई ‘निष्पक्ष पत्रकारिता’ नामक त्यस्तो काल्पनिक चरामा विश्वास छैन


–विजयकुमार पाण्डे ।
अहिले ‘निष्पक्ष पत्रकारिता’ भन्ने शब्दको चर्चा छ । मलाई भने यो शब्दमाथि नै शङ्का छ। सायद, पत्रकारिता पढाउने कसैले यसको आविष्कार गरेका होलान्। केही शब्द किताब र कक्षाकोठामा हुन्छन्, जीवनमा हुँदैनन्। त्यस्तै एउटा निर्जीव शब्द जस्तो लाग्छ,यो । साँच्चिकैको जीवनमा भन्ने हो भने– हरेक घनत्वशाली लेखक/पत्रकारका आफ्ना विचार हुन्छन्। मेरा पनि छन् ।

आज मैले तपाईंको पक्षको प्रशंसा गरेँ भने म निष्पक्ष रे ! भोलि तपाईंको पक्षको आलोचना गरेँ भने म पूर्वाग्रही रे ! हैट, चंखे कमेन्टे ! म फगत एक जिज्ञासु चिन्तक हुँ। राजनीतिक हावा जता चल्यो, उतै घुम्ने मौसमी भाले होइन। न त तपाईंका प्रिय नेताको जनसम्पर्क अधिकृत नै हुँ। ताली र गाली दुवैसँग मलाई झ्याउ लाग्छ। गालीसँग अलि बढी ।

म आफूले देखेका, बुझेका र महसुस गरेका कुरा भन्न पत्रकारिता र लेखनमा छु। तपाईंले सुन्न चाहेका कुरा मात्रै भन्न होइन। आफ्नो विवेकबाहेक कसैलाई खासै बाल दिन जरुरी देख्दिनँ । हो, मेरो विवेक सधैँ सही नहुन सक्छ। तथ्यगत गल्ती सच्याउन तयार छु। तर मेरो प्यारो विवेकलाई, म तपाईंको तालीका लागि साटौँला भन्ने मूर्ख विचार आफ्नो मनमा कहिल्यै नल्याउनुस्। यो मेरो आफ्ना पाठक, दर्शक, श्रोतालाई बिनम्र अनुरोध हो।

कमलमणि दीक्षितज्यूको हातबाट मदन पुरस्कार ग्रहण गर्दा भनेको थिएँ—‘मेरो लेखन, मेरो जीवनको विस्तार हो। मेरो आफ्नो जीवन त खोटरहित हुन सकेन भने मेरो लेखनी कसरी दोषरहित हुन सक्ला ? म ती मानिसहरूमा पर्न सक्दिनँ, पर्न पनि चाहन्नँ, जसको जीवन दोषरहित छ र जसको लेखनीमा कुनै खोट छैन।’

मलाई ‘निष्पक्ष पत्रकारिता’ नामक त्यस्तो काल्पनिक चरामा विश्वास छैन, जसको आफ्नो कुनै विचार हुँदैन, कुनै दृष्टि हुँदैन। त्यो काल्पनिक चरामा मेरो विश्वास कुल जम्मा त्यति नै छ, जति हिमालयमा हिममानव ‘यति’ हुन्छ रे भन्ने कुरामा छ।
हो, उमेर र अनुभवको यस मुकाममा, जब महत्त्वाकांक्षा र जवानीको भेल बगिसक्छ, तब केही भाग्मायशाली मानिसलाई , कुनै थोक पाउने लोभ वा गुमाउने भयबाट मुक्त हुने सुअवसर मिल्छ ।

पत्रकारितामा लागेको कुनै पनि नया पुस्ताले त्यतिमात्र स्वतन्त्रताको उपयोग गर्ने मौका पाउँछ, जति मात्राको स्वतन्त्रताको यसले रक्षा गर्न सक्छ । जीवनको यो गोधूलि साँझमा पनि म विवेकपूर्ण पत्रकारिताको पक्षमा छु… तर अब सक्रिय पत्रकारिता मेरो खासै रुचिको विषय होइन… यो भारी अब नयाँ पुस्ताले र समस्त समाजले उठाउनुपर्छ .. हेरौं ।
पाण्डेको फेसबुकबाट