बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते, तीन घण्टापछि नियन्त्रणमा


नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । 

आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। तीमध्ये प्रत्येक भट्टीको क्षमता २५ टन रहेको छ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन्। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । उनीहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।

घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन्।

त्यस्तै, भारतको बहराइच जिल्लाको कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।