समसामयिक विषयमा काङ्ग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्दै


काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन् ।

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केहीदिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।

आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ । उनले सम्वोधन गर्नु अघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्ने जनाइएको छ ।

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ।