स्वार्थ र कल्याणको सीमा


डा. गोविन्दशरण उपाध्याय ।

सबैलाई आफ्ना धर्म, संस्कृति र परम्पराहरू प्रिय लाग्न सक्छन् र हरेक व्यक्तिलाई आफ्नो मौलिक पहिचानप्रति गौरव गर्ने तथा त्यसको संरक्षण गर्ने अधिकार हुन्छ । तर सबै धर्म, संस्कृति तथा परम्पराहरू सर्वमान्य हुन्छन् र सबैका लागि समान रूपमा स्वीकार्य हुनुपर्छ भन्ने चिन्तन र व्यवहार द्वन्द्वकारी बन्न सक्छ । धेरैजसो मानवीय द्वन्द्वहरू व्यक्तिले अरूलाई पनि आफूजस्तै बनाउने प्रयत्न गर्दा उत्पन्न भएका छन् र भविष्यमा पनि भइरहनेछन् ।

मान्छे बौद्धिक प्राणी हो, यसमा कुनै शङ्का छैन । तर मान्छे अन्य प्राणीहरूको तुलनामा बढी स्वार्थी छ र यसले आफ्नो स्वार्थपूर्तिका लागि बौद्धिक क्षमताको प्रयोग गर्छ भन्ने तथ्य पनि बिर्सनु हुँदैन । सुख, आनन्द र सन्तुष्टिका लागि मान्छेको स्वार्थ र बौद्धिकताबीच द्वन्द्व हुन्छ । साधारणतया यस्तो द्वन्द्वमा मान्छेको स्वार्थ नै बढी बलियो हुन्छ, जसले राष्ट्र र राष्ट्रियताको निर्माण गर्छ । यदि हामीले गहिरो रूपमा विचार गर्‍यौँ भने बुझ्नेछौँ कि आधुनिक राष्ट्रहरू स्वार्थपूर्तिका लागि सामूहिक शक्तिको विस्तारबाट निर्मित भएका छन् ।

एउटा राष्ट्र आफ्ना जनताप्रति जवाफदेही बन्नुपर्ने बाध्यता यस्तो सामूहिक स्वार्थको निचोड हो । विचार गरौँ, आज कुनै पनि राष्ट्र अर्को राष्ट्रप्रति जवाफदेही छैन र अत्यधिक साधनसम्पन्न हुँदाहुँदै पनि साधनविहीन राष्ट्रका लागि त्याग गर्न सक्दैन । यसको अर्थ स्पष्ट छ : धर्म, धार्मिकता, संस्कृति, राजनीति, यहाँसम्म कि शिक्षानीतिहरू पनि स्वकीय स्वार्थको वरिपरि बाँधिएका छन् । यस्तो स्वार्थबाट उम्कने प्रयत्न गर्ने विचारक वा राजनीतिक चिन्तनलाई अतिदेवत्वकरण गरेर ‘सिद्धान्त’ को विषयमा रूपान्तरित गरियो अथवा क्रमशः ती विचार र विचारकहरूलाई सीमान्तीकृत गरियो । जताततै यस्तै अवस्था छ ।

आधुनिकता र विज्ञानको विकासले धर्म, धार्मिकता तथा सांस्कृतिक विषयहरूलाई कमजोर बनाएका छैनन्, अपितु यी विषयहरू राजनीतिक वा सामूहिक स्वार्थको सौदाबाजीमा प्रयोग हुन थालेका छन् । आजको विश्वसन्दर्भमा इस्लाम, इसाई, बौद्ध वा हिन्दु परम्पराका राजनीतिक, धार्मिक र सांस्कृतिक स्वरूपबीचको भिन्नता छुट्याउन सजिलो छैन । फरक स्पष्ट देखिन्छ, अनुभव गरिन्छ र त्यसका शुभाशुभ परिणामहरू भोगिएका पनि हुन्छन् तर तिनका बीचमा सीमा निर्धारण गर्ने प्रयत्नहरू प्रायः प्रत्युत्पादक सिद्ध भएका छन् । आज इस्लाम वा इसाई धर्म राजनीतिक शक्ति हुन् कि धार्मिक आस्था ? सबैले बुझेर बोल्न चाहँदैनन् । खासगरी नेपालजस्ता अल्पविकसित देशहरूका लागि यस्तो विभाजनबारे स्पष्ट बोल्नु, लेख्नु वा सीमाको प्रश्न उठाउनु धार्मिक, जातीय तथा वैचारिक अन्तर्राष्ट्रिय द्वन्द्वको विषय बन्न सक्छ । विकसित देशहरूको सामूहिक स्वार्थसमेत यस्ता प्रश्नबाट प्रभावित भएको देखिन्छ ।

मान्छेले आफ्नो सुखसुविधाका लागि विज्ञानको प्रयोग गरिरहेको छ । विज्ञानको प्रभाव र उपयोगिताले मान्छेको जीवनपद्धति रूपान्तरित भएको छ । मूल्य र लक्ष्य दुवै प्रभावित भएका छन् तर यी पूर्णतया बदलिएका छन् भन्न सकिँदैन । विज्ञानको विकासले सबैभन्दा बढी महत्त्व दिएको विषयवस्तु नै ‘मान्छे’ हो र यही महत्त्वका कारण मान्छेको जनसङ्ख्या बढेको छ । जनसङ्ख्या बढेसँगै धर्म, भूगोल, जातजाति, भाषा तथा साधनस्रोतहरूप्रतिको चासो र अधिकारको प्रश्न अत्यन्त महत्त्वपूर्ण बनेको छ । राजनीतिक चिन्तन र शक्ति झन् साँघुरो राष्ट्रियता, भूगोल, भाषा, संस्कृति, धर्म तथा पहिचानमा सीमित हुँदै छन् । मान्छेको बौद्धिक उदारता क्रमशः उपर्युक्त सीमाभित्र झन् कैद हुँदै छ । शक्तिशाली राष्ट्रहरूका स्वार्थहरू झन् बलिया र साँघुरा हुँदै छन् । यही तथ्य शक्तिशाली व्यक्तिहरूका हकमा पनि बुझ्नुपर्छ । शक्तिशाली व्यक्तिहरूले व्यक्तिगत स्वार्थपूर्तिका लागि निकै छलपूर्वक धर्म, भूगोल, जातजाति, भाषा तथा साधनस्रोतहरूप्रतिको चासोलाई उपयोग गर्छन् । सर्वसाधारणहरूको हातमा ‘आशा’ बाहेक केही हुँदैन ।

प्राचीन वैदिक ऋषिहरूले ‘विश्व सम्पूर्ण प्राणीहरूको साझा गुँड हो, हरेक जीव र निर्जीवको साझा तत्त्व ब्रह्म हो, निष्काम कर्म नै कल्याणकारी कर्म हो, जीवनको अधिकार सबैलाई छ र विश्वको कुनै पनि प्राणी दुःखी नहुने गरी कर्म गर्नुपर्छ’ जस्ता धर्म, पन्थ, राजनीति तथा अर्थनीतिनिरपेक्ष जीवनपद्धतिका मार्गदर्शन प्रस्तुत गरे । तर मान्छेले यी मार्गदर्शनहरूलाई ‘ऋषिहरूका महान् आदर्श’ भन्दै ऋषिहरूप्रति सम्मान व्यक्त गरेर किनारा लगायो । विश्वको जुनसुकै भूगोलमा जुनसुकै व्यक्तिले उपर्युक्त मार्गदर्शन प्रस्तुत गरेको भए पनि ती सधैँ सम्मानका विषय बने । तर आफ्नो स्वार्थका लागि मान्छेले यी कालजयी मार्गदर्शनहरूलाई ‘सम्मान र आदर्शको विषय’ बनाएर छलपूर्वक किनारा लगाएको छ । के उपर्युक्त मार्गदर्शनहरू वैज्ञानिक चिन्तन र त्यसको साधनाका लागि अनुपयुक्त छन् त ? सायद, हाम्रो स्वार्थले यस्तो प्रश्न गर्न दिँदैन !

प्रश्न स्वार्थ र छलको मात्र होइन, कल्याणकारी सामाजिक चिन्तन र व्यवहारको पनि हो । विश्व केवल स्वार्थी मात्र छ भन्नु अर्धसत्य हुनेछ तर स्वार्थका तुलनामा कल्याणकारी चिन्तन र व्यवहार कमजोर छन् भन्नु बढी उपयुक्त हुन्छ । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने व्यक्तिलाई ‘स्वार्थ र त्यसको परिणाम’ बारे थाहा छ । उदाहरणका लागि राष्ट्रिय सुरक्षाका लागि विध्वंसक बमहरू निर्माण गरेर पनि तिनको प्रयोग नगर्ने सन्धि गर्नु कल्याणकारी विचार र व्यवहारको विजय हो तर बढ्दो शस्त्र व्यापार राष्ट्रिय स्वार्थको चरम विस्तार हो । एकातिर मान्छेलाई स्वार्थका नराम्रा परिणामहरूको ज्ञान छ भने अर्कोतिर त्यसलाई परित्याग गर्न सक्दैन । दार्शनिक रूपमा यही स्वार्थ र कल्याणकारी चिन्तनबीचको उहापोह हो । आजको मान्छे यस्तो उहापोह, अनिर्णय र बौद्धिक द्वन्द्वका बीच बाँच्न र जीवनयापन गर्न अभिशप्त भएको छ ।

अब आरम्भको प्रश्नतिर फर्कौँ । सैद्धान्तिक रूपमा मान्छेको चिन्तन र व्यवहार निकै फराकिलो भएको छ । स्वार्थ र कल्याणकारी चिन्तनबीचको दूरी इतिहासमै सबैभन्दा फराकिलो भएको छ । सांस्कृतिक, धार्मिक, राजनीतिक तथा जातीय पूर्वाग्रहहरू कमजोर भएका छन् । मान्छेले मान्छेको मात्र होइन, पृथ्वीको जैविक र अस्तित्वगत मूल्य पनि बुझ्न थालेको छ । तर व्यावहारिक रूपमा व्यक्तिगत स्वार्थहरू राजनीतिक, भौगोलिक, धार्मिक, आर्थिक तथा जातीय स्वार्थ बनेर राजनीतिक भूगोल अर्थात् राष्ट्रमा रूपान्तरित भएका छन् । आजका राष्ट्रहरू व्यक्तिहरूका व्यक्तिगत स्वार्थको कार्यान्वयन गर्ने अत्यन्त स्वार्थी व्यक्तिका रूपमा रूपान्तरित भएका छन् ।

सबैभन्दा नमिठो, नमिल्दो र बुझ पचाउनुपर्ने विषय के हो भने विज्ञानको विकासले यी स्वार्थी राष्ट्रहरूको शक्तिलाई अत्यन्त बलियो बनाएको छ । कमजोर राष्ट्रहरूका शक्तिशाली व्यक्तिहरूसमेत शक्तिशाली राष्ट्रहरूका संयन्त्र बनेर आफ्नो स्वार्थका लागि धर्म, संस्कृति, भाषा, भूगोल, जातजाति र आर्थिक शक्तिको सीमाहीन उपयोग गर्न सफल भएका छन् । वास्तविक समस्याहरूसमेत स्वार्थको बलिवेदीमा प्रयोग भइरहेका छन् । वास्तविक समस्या के हो भने आजको राजनीतिक विश्वमा स्वार्थका लागि कुनै सीमा तोकिएको छैन तर कल्याणकारी चिन्तन, साधना र व्यवहारका लागि असङ्ख्य सीमाहरू छन् । अझै धेरै समयसम्म मान्छेले आफ्नै धर्म, राजनीति, भाषा, भूगोल, जातीय पहिचान, आर्थिक स्वार्थ तथा सांस्कृतिक स्वार्थहरूसँग निरन्तर सङ्घर्ष गर्नुपर्नेछ । ‘सर्वे भवन्तु सुखिनः’ को ऋषिलक्ष अझै सायद असीमित समयसम्म श्रद्धा र आदर्शकै सीमाभित्र सुरक्षित रहिरहनेछ ।

अन्ततः समस्या मान्छेमा स्वार्थ हुनु होइन, स्वार्थलाई नै जीवन, समाज र राष्ट्रको सर्वोच्च मूल्य बनाउनु हो । आफ्नो सुख खोज्नु स्वाभाविक हो, आफ्नो धर्म–संस्कृतिको संरक्षण गर्नु अधिकार हो र आफ्नो राष्ट्रको हित चाहनु कर्तव्य हो । तर यी सबै अधिकार र कर्तव्यहरूको नैतिक सीमा त्यहाँ समाप्त हुन्छ, जहाँबाट अरूको अस्तित्व, स्वतन्त्रता र कल्याणमाथि आघात पुग्न थाल्छ । आफ्नो सुखका लागि अरूको दुःख अनिवार्य ठान्ने चिन्तन सभ्यता होइन, बौद्धिक सामर्थ्यको दुरुपयोग हो । विज्ञानले शक्ति दिन सक्छ, राजनीतिले व्यवस्था निर्माण गर्न सक्छ र धर्मले जीवनलाई अर्थ प्रदान गर्न सक्छ तर यी सबैको अन्तिम मूल्याङ्कन तिनले मानवीय जीवन र विश्वकल्याणमा पुर्‍याएको योगदानका आधारमा हुनुपर्छ ।

स्वार्थलाई निषेध गर्न सकिँदैन तर विवेक, न्याय र उत्तरदायित्वद्वारा मर्यादित गर्न अवश्य सकिन्छ । त्यसैले आजको आवश्यकता नयाँ आदर्शहरूको निर्माणभन्दा पनि स्वीकृत आदर्शहरूलाई व्यवहारमा उतार्ने नैतिक साहस हो । जुन दिन मान्छेले आफ्नो अधिकारसँगै अरूको अधिकार, आफ्नो समृद्धिसँगै अरूको जीवन र आफ्नो राष्ट्रिय हितसँगै विश्वको साझा हित स्वीकार गर्न थाल्नेछ, त्यसै दिन स्वार्थ र कल्याणबीचको वास्तविक दूरी घट्न थाल्नेछ । अन्यथा ‘सर्वे भवन्तु सुखिनः’ जस्ता उदात्त वैदिक प्रार्थनाहरू ऋषिहरूको महान् चिन्तनको सम्मानमा उच्चारित भइरहनेछन् तर मानवीय व्यवहारले तिनलाई निरन्तर उपेक्षा गरिरहनेछ । वास्तवमा सभ्यताको सर्वोच्च उपलब्धि सबैभन्दा शक्तिशाली हुनु होइन, आफ्नो शक्तिको प्रयोग गर्दा अरूको अस्तित्व र कल्याणको सम्मान गर्न सक्नु हो । यही स्वार्थको मर्यादा र कल्याणको वास्तविक आरम्भ हो ।