सिरहामा ८४ किलो गाँजासहित दुई जना पक्राउ


सिरहा । सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गएराति करिव ११ बजे औरही गाउँपालिका–२ स्थित देउरीपट्टी स्कुल नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

प्रहरी चौकी हरकट्टीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा कालो प्लास्टिकका पोका बोकेर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका व्यक्तिमाथि शंका लागेपछि जाँच गर्न खोजेको थियो । प्रहरीलाई देखेपछि उनीहरूले प्लास्टिकका पोका फालेर भाग्न खोजेका थिए ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर पोका जाँच गर्दा पाँचवटा पोकाभित्र गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ । प्लास्टिकसहित उक्त पदार्थको तौल ८४ किलो ५९० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी दास र बरियारपट्टी गाउँपालिका–३ शिवनगरका ६५ वर्षीय शंकर यादव रहेका छन् । उनीहरूलाई बरामद पदार्थसहित जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।