काठमाडौं । हुवावेले आफ्नो नयाँ स्मार्टवाच सिरिज नेपालमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी प्रणाली तथा बाहिरी खेलकुद गतिविधिको अभिलेख राख्ने सुविधासहित कम्पनीले वाच जीटी ७ र वाच जीटी ७ प्रो नेपाली बजारमा ल्याएको हो।
कम्पनीका अनुसार वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ र वाच जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ तोकिएको छ। आधुनिक जीवनशैली र शारीरिक तन्दुरुस्तीलाई ध्यानमा राखेर तयार गरिएका यी घडीमा विभिन्न स्वास्थ्य तथा खेलकुदसम्बन्धी सुविधा समावेश छन्।
साहसिक यात्राका लागि उपयुक्त
वाच जीटी ७ प्रोमा अन्तरिक्ष तथा विमान प्रविधिमा प्रयोग हुने उच्च गुणस्तरको टाइटेनियम मिश्रधातुबाट बनेको बाहिरी आवरण, नानो प्रविधिबाट तयार गरिएको सिरेमिक घेरा र नीलमणि काँचको सुरक्षा रहेको कम्पनीले जनाएको छ। यसको १.४७ इन्चको एमोलेड पर्दाले अधिकतम तीन हजार निट्ससम्मको चमक प्रदान गर्ने भएकाले घाममा पनि पर्दामा देखिने विवरण स्पष्ट हुने बताइएको छ।
हुवावेको सूर्यफूल स्थान निर्धारण प्रणाली र दुई आवृत्तिमा काम गर्ने विश्वव्यापी स्थान निर्धारण प्रविधिले यात्राका क्रममा मार्गको सटीक अभिलेख राख्न सहयोग गर्छ। यसमा रहेको पदमार्ग दौडसम्बन्धी सुविधाले उचाइ, गति, उकालो–ओरालोको ढलान, दूरी तथा मुटुको धड्कनसम्बन्धी जानकारी उपलब्ध गराउँछ।
यी सुविधाले घडीलाई पदयात्रा, हिमाली यात्रा तथा अन्य बाहिरी गतिविधिका लागि उपयोगी बनाउने कम्पनीको विश्वास छ। यसका अतिरिक्त साइकल चलाउने र गल्फ खेल्ने व्यक्तिका लागि विशेष सुविधा उपलब्ध छन्। त्यस्तै, ४० मिटरसम्मको गहिराइमा उपकरणको सहायताबिना डुबुल्की लगाउने गतिविधिमा सहयोग गर्ने सुविधा पनि यसमा समावेश गरिएको छ।
स्वास्थ्य निगरानी र लामो समय टिक्ने ब्याट्री
वाच जीटी ७ प्रोमा विद्युतीय हृदय परीक्षण, मुटुको धड्कन मापन, रगतमा अक्सिजनको मात्रा निगरानी, निद्रा विश्लेषण, मुटुको धड्कनमा हुने परिवर्तनको अभिलेख तथा तनाव निगरानीजस्ता सुविधा उपलब्ध छन्।
यसमा रहेको शारीरिक तयारी अङ्कले शरीरको पुनःस्थापना अवस्था र दैनिक गतिविधिका लागि आफ्नो तयारी बुझ्न सहयोग गर्छ। साथै, एक सय १० भन्दा बढी व्यायाम विधि समावेश गरिएकाले प्रयोगकर्तालाई विभिन्न शारीरिक तन्दुरुस्तीका लक्ष्य हासिल गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।
यस घडीको अर्को विशेषता लामो समयसम्म टिक्ने ब्याट्री हो। कम्पनीका अनुसार प्रयोगको अवस्थाअनुसार हल्का प्रयोगमा ब्याट्री २१ दिनसम्म र सामान्य प्रयोगमा १२ दिनसम्म टिक्न सक्छ। पदमार्ग दौडसम्बन्धी सुविधा प्रयोग गर्दा भने ब्याट्री ५१ घण्टासम्म चल्न सक्ने जनाइएको छ। यो घडी एन्ड्रोइड र आईओएस दुवै प्रणालीमा आधारित मोबाइल उपकरणसँग प्रयोग गर्न सकिन्छ।
मूल्य, रङ र विशेष उपहार
वाच जीटी ७ को ४६ मिलिमिटर आकारको संस्करण कालो र पहेँलो रङमा उपलब्ध हुनेछ। त्यस्तै, ४१ मिलिमिटर आकारको संस्करण गुलाबी रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको मूल्य ४४ हजार ९९० रुपैयाँ तोकिएको छ।
वाच जीटी ७ प्रोको ४६ मिलिमिटर आकारको संस्करण भने कालो, हरियो र पहेँलो रङमा उपलब्ध हुनेछ। यसको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको छ।
सीमित अवधिका लागि वाच जीटी ७ प्रो खरिद गर्ने ग्राहकले पाँच हजार ४९० रुपैयाँ मूल्य पर्ने हुवावे फ्रिबड्स एसई २ नामक ताररहित श्रवण उपकरण निःशुल्क प्राप्त गर्नेछन्।

प्रतिक्रिया