अमित शाहबारे दिएको अभिव्यक्तिको मुद्दामा राहुल गान्धीलाई सफाइ


नयाँदिल्ली । भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले आपराधिक मानहानि मुद्दामा सफाइ पाएका छन् । भारतको उत्तर प्रदेशस्थित सुल्तानपुरको विशेष गान्धीलाई सन् २०१८ मा गृहमन्त्री अमित शाहविरुद्ध दिएको अभिव्यक्तिसम्बन्धी आपराधिक मानहानि मुद्दामा सोमबार सफाइ दिएको हो ।

प्रमाणको अभाव रहेको भन्दै अदालतले गान्धीलाई सफाइ दिएको हो । फैसलाको सुनुवाइका क्रममा गान्धी स्वयं अदालतमा उपस्थित भएका थिए । अदालतको निर्णयपछि उनका समर्थकहरूले खुसी व्यक्त गर्दै फैसलाको स्वागत गरेका छन् ।

भाजपा नेता तथा सुल्तानपुर जिल्ला सहकारी बैंकका पूर्वअध्यक्ष विजय मिश्रले गान्धीविरुद्ध मुद्दा दायर गरेका थिए । सुल्तानपुरको कोतवाली देहात प्रहरी क्षेत्रअन्तर्गत हनुमानगन्ज निवासी मिश्रले सन् २०१८ अगस्ट ४ मा उजुरी दिएका थिए ।

सन् २०१८ मा कर्नाटक विधानसभा निर्वाचनअघि बेङ्गलुरुमा आयोजित चुनावी सभाका क्रममा गान्धीले अमित शाहबारे दिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको थियो । अदालतको फैसलापछि भारतीय कांग्रेसले स्वागत गर्दै ‘सत्यको सधैँ विजय हुन्छ’ भन्ने प्रतिक्रिया दिएको छ ।