खार्तुम । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ ।
मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले सोमबार बताएका छन् ।
प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार, आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा उक्त आक्रमण भएको थियो । वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताए । मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मद पनि थिए ।
उनका अनुसार, आक्रमणमा घाइते भएका अन्य ४७ जनालाई नजिकैको अल–मुजलाद सहर लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनीहरूमध्ये ३० जनाको मृत्यु भएको जानकारी एक चिकित्सक स्रोतले एएफपीलाई दिएको छ ।
आक्रमणमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया