काठमाडौं । नेपाली कांग्रेसले यसवर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसीमा आएको बाढीका कारण एक हजार चार सयभन्दा बढीको मृत्यु भएको र पाँच हजारभन्दा बढी बेपत्ता रहेको उल्लेख छ । त्यस्तै, बूढीगण्डकीमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्याएको जनाइएको छ ।
कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका पार्टीका संस्थापक नेता बिपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह सुरु गरेको स्मरण गराएको छ । आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम केही वर्षबाहेक हरेक वर्ष आयोजना हुँदै आएको थियो ।
शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन सभापति गगनकुमार थापाले आग्रह गरेका छन् ।

प्रतिक्रिया