भारत । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो । ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो । उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको थियो ।
दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिए । घटनामा ड्युटीमा रहेका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन् ।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले उद्धारका लागि तत्काल एम्बुलेन्स र अन्य सवारीसाधन पठाइएको बताए । दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने र नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक कसरी सडकमा प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
एक प्रत्यक्षदर्शीले ट्रकमा क्षमताभन्दा बढी भार रहेको दाबी गर्दै त्यसले पसल र मानिसहरूलाई ठक्कर दिएको बताए ।

प्रतिक्रिया