हुथीविरुद्ध इजरायली सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह


रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको सहयोग स्विकार्न साउदी अरेबियासँग आग्रह गरेका छन् । उनले साउदी अरेबिया र इजरायलबीच सम्बन्ध सुधार्नेगरी अब्राहम सम्झौतामा हस्ताक्षर हुने स‌भावना पनि बढेको बताए ।

इजरायलसँग सम्बन्ध सुधारका लागि साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापनाको स्पष्ट मार्ग सुनिश्चित हुनुपर्ने अडान राख्दै आएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्नुअघि इजरायल र साउदी अरेबिया सम्बन्ध सामान्य बनाउने सम्झौताको नजिक पुगेका थिए ।

यसैबीच, इरानले हुथीका आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै द्वन्द्व अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको जनाएको छ ।

यमनको सरकारले हुथीले एडन विमानस्थलमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । ती क्षेप्यास्त्र कायरो उड्न तयारी अवस्थामा रहेको विमाननजिक खसेका थिए ।

साउदी अरेबियास्थित अमेरिकी दूतावासले पनि सम्भावित आक्रमण र उडान अवरोधबारे आफ्ना नागरिकलाई सचेत गराएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले पछिल्लो २४ घण्टामा साउदी लडाकू विमानले यमनका विभिन्न क्षेत्रमा १०१ वटा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको र हालसम्म यस्ता आक्रमणको सङ्ख्या दुई हजार ४८९ पुगेको दाबी गरेको छ ।

अर्कोतर्फ, यान्बुतर्फ प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्र, लाल सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र र तीनवटा ड्रोन नष्ट गरिएको साउदी नेतृत्वको सैनिक गठबन्धनले जनाएको छ ।

हुथीका आक्रमण र त्यसको जवाफी कारबाही चलिरहेका बेला आफ्ना ऊर्जा पूर्वाधार तथा महत्त्वपूर्ण समुद्री मार्गको सुरक्षालाई लिएर साउदी चिन्तित छ ।