वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त भएको एक साताभन्दा कम समयमै पदमुक्त भएकी छन् । आफूलाई वकिलका रूपमा प्रस्तुत गरेको विषयमा विवाद चर्किएपछि उहाँको कार्यकाल छोटिएको हो ।
एकचालिस वर्षीया जचारियाले मङ्गलबार पहिलो पत्रकार सम्मेलन गरेकी थिइन् । १५ मिनेटभन्दा कम समय चलेको सम्मेलनमा उनले ट्रम्पका उपलब्धिबारे विवरण पढेकी थिइन् भने पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिएकी थिइन् ।
सम्मेलनको प्रस्तुतिलाई लिएर आलोचना भएपछि ट्रम्पले समेत उनलाई पदमा रहन पुनर्विचार गर्न सुझाव दिएका थिए ।
जचारियाले टेलिभिजन अन्तर्वार्ता र सामाजिक सञ्जालमा आफूलाई वकिलका रूपमा चिनाएकी थिइन् ।
क्यालिफोर्निया विश्वविद्यालयबाट कानूनमा स्नातक गरेकी उनले अमेरिकामा कानून व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेकी थिइनन् । उनले बिहीबार परीक्षा असफल भएको स्वीकार गरिन् । ट्रम्पसमर्थक सञ्चारमाध्यममा विवाद साम्य पार्न दिएको अन्तर्वार्ताले पनि आलोचना रोक्न सकेनन् ।
उनले कानूनमा स्नातक गरेको आधारमा आफूलाई वकिल भन्न मिल्ने आश्वासन धेरै व्यक्तिले दिएको बताएकी थिइन् ।
चीनबारे गरेको टिप्पणीले पनि जचारिया विवादमा परिन् । दक्षिणपन्थी प्रभावशाली व्यक्तित्व ज्याक पोसोबिकसँगको अन्तर्वार्तामा उनले चीनसँग उचित शौचालयसमेत नभएको टिप्पणी गरेकी थिइन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले त्यसको प्रतिक्रियामा उनलाई चीनको भ्रमण अझ धेरै पटक गर्न सुझाव दिएका थिइन् ।
जचारियाले ट्रम्पकी पूर्वप्रेस सचिव क्यारोलिन लेभिटको स्थान लिएकी थिइन् । ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउसका सञ्चार निर्देशक एन्थोनी स्कारामुचीको कार्यकाल ११ दिन मात्र रहेको थियो । उनले सामाजिक सञ्जालमा आफ्नो कीर्तिमान तोडिन सक्ने टिप्पणी गरेकी थिइन् ।
जचारियाको पदमुक्ति नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि भएको हो । इरानसँगको युद्ध, मुद्रास्फीति र भ्रष्टाचारसम्बन्धी धारणाका कारण रिपब्लिकन पार्टीप्रति जनसमर्थन घटेको र निर्वाचनमा कमजोर परिणाम आउन सक्ने सर्वेक्षणहरूले देखाएका छन् ।

प्रतिक्रिया