पीआर विवादमा तानिए जापानका लागि प्रस्तावित राजदूत थापा, सुनुवाइ प्रक्रिया स्थगित


काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यानकुमार थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसकेपछि संसदीय सुनुवाइ समितिको बैठक दसैंपछि बस्ने गरी स्थगित भएको छ।

बुधबार समितिका सभापति बोधनारायण श्रेष्ठले थापाको नाम निर्णयार्थ प्रस्तुत गरेपछि सांसदहरूसँग धारणा मागेका थिए । त्यसक्रममा नेकपाका सांसद वर्षमान पुनले थापाको पीआरलगायतका विषय उठाउँदै उनको नाम अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने थापाको विषयमा तत्काल निर्णय नगरी पछि टुंग्याउनुपर्ने अडान लिए । रास्वपाकै केही सांसदले भने उनको नाममा तत्काल निर्णय लिनुपर्ने धारणा राखेका थिए।
बुर्लाकोटीले आफ्नो अडान नछाडेपछि समितिमा निर्णय प्रक्रिया अघि बढ्न सकेन। त्यसपछि सभापति श्रेष्ठले बैठक दसैंपछि बस्ने गरी स्थगित गरेका हुन्।

थापाको संसदीय सुनुवाइका क्रममा उनले जापानको पीआर लिएको र हालै मात्र त्यागेको विषय उठेको थियो । उनकी श्रीमती र छोराहरू अझै जापानको पीआरधारी रहेको, जापानमा उनको घर रहेको तथा जापानका सरकारी निकायबाट तलब लिने गरेको विषयमा पनि प्रश्न उठाइएको थियो । उनी जापानका स्थानीय तहमा सल्लाहकारका रूपमा समेत कार्यरत रहेको विषय सुनुवाइका क्रममा उठेको थियो।