फ्लाईदुबईका पाइलट मच्छर चर्चामा, नेतन्याहू र ट्रम्पले दिए ‘हिरो’को संज्ञा


बीबीसी हिन्दी । फ्लाईदुबईको उडान FZ1073  मा सह–चालकको चक्कु प्रहारबाट घाइते भएका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेको बताइएको छ। इजरायली यात्रु यानिभ हयुनले बुधबार बेन गुरियन विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।

हयुनका अनुसार ककपिटको ढोका खुलेको थियो, तर मच्छर ढोकाको निकै नजिक भएकाले त्यसलाई खोल्न कठिन भइरहेको थियो । उनका अनुसार मच्छरले आफ्नो सुझबुझ प्रयोग गर्दै यात्रु तथा चालक दलका सदस्यलाई भित्र प्रवेश गर्न सक्ने अवस्था बनाएका थिए।

हयुनले भने, ‘मेरो निष्कर्षमा उहाँले आफ्नो सुझबुझ प्रयोग गरेर हाम्रो लागि ढोका खोल्नुभयो र त्यसपछि बेहोस हुनुभयो।’
पछि नेतन्याहूले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मच्छरको बहादुरीको प्रशंसा गरेका थिए । उनले चक्कु प्रहारबाट गम्भीर घाइते भएपनि मच्छरले प्रतिकार गरेको, आक्रमणकारीको सामना गरेको र ककपिटको ढोका खोलेर यात्रु तथा चालक दलका सदस्यलाई सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताएका थिए।

नेतन्याहूका अनुसार मच्छरको प्रयासका कारण विमानभित्र ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। उनले मच्छरले इजरायली नागरिकसहित १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

चक्कु प्रहारका क्रममा मच्छरले के गरे ?

स्मित मच्छरको बहादुरीको सामाजिक सञ्जालमा पनि व्यापक चर्चा भइरहेको छ। इरानी मूलकी एक महिलाले ‘एक्स’मा आफ्ना श्रीमान् पाइलट रहेको उल्लेख गर्दै ककपिटभित्रबाट ढोका अनलक गर्न सकिने स्विच हुने बताएकी छन्। उनका अनुसार सम्भवतः क्याप्टेन मच्छरले सहयोगका लागि आवाज मात्र नलगाई बेहोस हुनुअघि उक्त स्विचसमेत दबाएका हुन सक्छन्, जसका कारण विमानका चालक दलका सदस्य तथा यात्रु ककपिटभित्र प्रवेश गर्न सके।

उनले ककपिटको ढोका लक नै रहेको भए भित्र प्रवेश गरेर विमानलाई नियन्त्रणमा लिन सहयोग गर्न कठिन हुने उल्लेख गर्दै मच्छरको निर्णयले विमानमा सवार सबैको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्। इजरायली समाचार वेबसाइट ‘जेरुसेलम पोस्ट’का अनुसार घाइते मच्छरलाई केही यात्रुले प्राथमिक उपचारसमेत गरेका थिए। तीमध्ये इजरायली दन्त चिकित्सक शोता मुसायेव पनि थिए।

विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गराएपछि मच्छरलाई ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो।मुसायेवले इजरायली सञ्चारमाध्यमसँग मच्छर गम्भीर रूपमा घाइते भएको र उनको टाउको तथा हातबाट धेरै रगत बगेको बताएका छन्। उनले रगत रोक्न आफूले सहयोग गरेको र त्यसपछि मच्छरको अवस्था स्थिर भएको बताएका थिए। तर विमान अवतरण गर्ने क्रममा उनको अवस्था पुनः बिग्रिएको उनले बताए। मुसायेवका अनुसार मच्छरले बोल्दै आफूलाई अर्को पाइलटले चक्कु प्रहार गरेको जानकारी दिन सकेका थिए।

को हुन् स्मित मच्छर ?

स्मित मच्छर अनुभवी पाइलट हुन्। उनको लिंक्डइन प्रोफाइलअनुसार फ्लाईदुबईमा आबद्ध हुनुअघि उनले भारतीय विमान कम्पनी स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गरेका थिए। त्यहाँ उनी ट्रेनिङ क्याप्टेन तथा नयाँ पाइलटका मेन्टरसमेत थिए। प्रोफाइलअनुसार उनले बोइङ ७३७–८०० तथा ७३७ म्याक्स ८ र ९ विमानमा करिब ९ हजार ७५० घण्टा उडान गरेका छन् । लिंक्डइन प्रोफाइलले मच्छरका छोराछोरीसमेत रहेको देखाउँछ।

साउदी अरबस्थित भारतीय दूतावासले मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको र आवश्यक उपचार भइरहेको जनाएको छ। दूतावासका अनुसार उनको स्वास्थ्य अवस्थाबारे पूर्ण जानकारी प्राप्त भइसकेको छैन, तर उनको अवस्था स्थिर रहेको जानकारी आएको छ। दूतावासका अधिकारीहरू मच्छरको परिवारसँग सम्पर्कमा रहेको पनि बताइएको छ।

ट्रम्पले पनि गरे मच्छरको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फ्लाईदुबईका पाइलट मच्छरलाई ‘हिरो’ बताएका छन्। ट्रम्पका अनुसार पाइलटले सह–पाइलटको चक्कु प्रहारको सामना गर्दै ककपिटको ढोका खोले र सहयोगका लागि आवाज लगाए। यसले विमानलाई जानाजानी दुर्घटनाग्रस्त गराउने कथित प्रयास रोक्न सहयोग गरेको उनले बताए।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री नेतन्याहूसँग कुराकानी गरेको बताएका थिए। ट्रम्पका अनुसार नेतन्याहूले उनलाई दुबईबाट तेल अभिभतर्फ उडेको उक्त विमानलाई नियन्त्रणमा लिन एक यात्रुले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। ती यात्रु प्लम्बर रहेको र उनले यसअघि कहिल्यै विमान नउडाएको ट्रम्पले बताएका थिए।

ट्रम्पले पाइलटको अवस्था निकै गम्भीर रहेको उल्लेख गर्दै मच्छरले देखाएको सुझबुझलाई ‘अविश्वसनीय’ बताएका थिए। उनका अनुसार ती यात्रुले ककपिटमा प्रवेश गरी सह–पाइलटलाई सिटबाट तानेर पछाडि लडाएका थिए। त्यसपछि अन्य यात्रुले उनलाई नियन्त्रणमा लिएका थिए।

ट्रम्पका अनुसार ती यात्रुले पछि आफूले ‘एयर डिजास्टर्स’ नामक टेलिभिजन कार्यक्रम हेरेर विमान उडानका केही आधारभूत कुरा सिकेको बताएका थिए। विमानको पछिल्लो भागमा रहेका अतिरिक्त पाइलट र सुरक्षा कर्मचारी पछि ककपिटमा पुगेका र विमानको नियन्त्रण सम्हालेको ट्रम्पले बताएका छन्।