काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटमा उनीहरुबीच तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको महासंघले जनाएको छ ।
छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक सहजीकरण गर्न आग्रह गरे । उनले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउनुका साथै निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न दुवै देशबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।
मुख्य उत्तरी व्यापारिक नाकामा रसुवागढी तथा कोरला नाकामा अवरोध आएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नै नेपाल–चीन व्यापार तथा आपूर्ति शृंखलामा थप दबाब परेको उनले जानकारी गराएका थिए ।
रसुवागढी–केरुङ नाकामा बाढीले क्षति पुर्याएपछि बढेको व्यापारिक चाप कम गर्न तातोपानी भन्सार नाका यथाशीघ्र पुनः सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
जवाफमा राजदूत झाङले बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ र नेपाली अधिकारीहरूबीच संयुक्त रूपमा स्थलगत निरीक्षण भइरहेको जानकारी दिए । सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनस्र्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको उल्लेख गर्दै उनले जनजीवन र आवागमन सहज बनाउन आवश्यक पहल भइरहेको बताए ।
भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह (आईसीडी) तथा काठमाडौंलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको छ ।
महासंघका अध्यक्ष श्रेष्ठले कठिन समयमा चीनले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै व्यापार तथा लगानीका चुनौती सम्बोधन गर्न सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
यसैक्रममा नेपाल र चीनका निजी क्षेत्रबीच व्यापार तथा लगानीसम्बन्धी चुनौती, सम्भावना र आर्थिक पुनरुत्थानका लागि दीर्घकालीन समाधान पहिचान गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।
त्यस अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक डा. गोपालप्रसाद तिवारीले नेपाल–चीनबीचको द्विपक्षीय व्यापार, लगानी तथा दीर्घकालीन आर्थिक सहकार्यका विषयमा सहकार्य गर्दै जानु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया